सामाजिक फीड–
जनकपुरधाम, जेठ २० गते ।
महोत्तरी प्रहरीले बालक अपहरण प्रयासमा संलग्न एक फरार प्रतिवादीलाई रौतहटबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्ने व्यक्ति रौतहट जिल्लाको गढीमाई नगरपालिका–७ निवासी २३ वर्षीय नवराज अधिकारी हुन्।
गत वैशाख ७ गते दिउँसो करिब २ बजे महोत्तरीबाट तीन जना अज्ञात व्यक्तिले नम्बर नखुलेको मोटरसाइकलमा एक ८ वर्षीय बालकलाई जबरजस्ती राखी अपहरण गर्ने प्रयास गरेका थिए। बालकले चिच्याएर सहायता मागेपछि स्थानीय बासिन्दाले घटनालाई देखेर मोटरसाइकल रोक्न खोजेका थिए। स्थानीयको प्रतिरोधपछि अपहरणकारीहरूले बालकलाई घटनास्थलमै छाडेर फरार भएका थिए।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले वारदातमा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल बरामद गरेको थियो। अनुसन्धानकै क्रममा संलग्न प्रतिवादीमध्येका नवराज अधिकारीलाई गत जेठ १५ गते दिउँसो करिब ३स्३० बजे पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोगमा महोत्तरीबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका-५ स्थित हस्पिटल चोकबाट उनलाई नियन्त्रणमा लिएको थियो।
महोत्तरी प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पन्चलाल गोलेका अनुसार पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।