Samajik Feed – News Portal from Nepal

सामाजिक फीड, जनकपुरधाम, २० जेठ । नेपालका तराई तथा मधेश क्षेत्रका जिल्लाहरूमा पछिल्ला दिनहरूमा तापक्रम लगातार बढ्दै गएको छ। अत्यधिक गर्मीका कारण ‘लू’ (Heat Wave) को जोखिम समेत बढेको भन्दै सम्बन्धित निकायहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार तातो हावा वा ‘लू’ को प्रभावका कारण मानिसमा मुटुको धड्कन असामान्य रूपमा बढ्ने, रक्तचाप कम हुने, टाउको अत्यधिक दुख्ने, रिङ्गटा लाग्ने, ज्वरो आउने तथा बेहोस हुने जस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षणलाई बेवास्ता गरेमा ज्यानसमेत जान सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।

विशेषगरी तराई तथा मधेश प्रदेशका जिल्लाहरूमा गर्मीको प्रभाव बढी देखिने भएकाले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई अतिरिक्त सावधानी अपनाउन आग्रह गरिएको छ।

प्राधिकरणका अनुसार कसैमा लू लागेको शंका भएमा तत्काल शीतल स्थानमा सार्नुपर्छ। शरीरमा हावा सहज रूपमा प्रवेश गर्न सक्ने गरी कपडा खुकुलो बनाइदिनुका साथै प्रशस्त पानी, जीवनजल (इलेक्ट्रोलाइट) वा झोलिलो खानेकुरा दिनुपर्छ। तर कफी, अत्यधिक चिनी भएको चिसो पेय पदार्थ, बियर तथा मदिराजन्य पदार्थ भने दिन नहुने सुझाव दिइएको छ।

त्यसैगरी बिरामीको निधार, हत्केला, गोडा तथा पैतालामा चिसो भिजेको कपडाले पानीपट्टी लगाइदिनुका साथै आवश्यक परेमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्‍याउन पनि आग्रह गरिएको छ।

मौसमविद्हरूले आगामी दिनमा पनि तराई क्षेत्रमा तापक्रम उच्च रहने सम्भावना रहेको जनाउँदै अत्यावश्यक कामबाहेक दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा शरीरलाई शीतल राख्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *