Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ २०  गते ।

मधेश प्रदेशमा वडा र पालिकाको अधिवेशनको क्रममा रास्वपाभित्र दर्जनौ ठाउँमा विवाद चर्किएको छ । अधिवेशनको क्रममा प्रदेशका आठवटै जिल्लामा केही ठाउँमा कुटाकुट भएका छन् भने केही ठाउँमा असन्तुष्ट पक्षले तोडफोड गरेको पाइएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाई बहुमत पाएपछि पार्टीभित्र पदाधिकारीमा आकांक्षीको लर्को छ ।

तर सिमित पद हुँदा आंकाक्षीबीच प्रतिष्पर्धा एवं विवाद बढेको देखिएको छ । पार्टीले वडा र पालिकाकाको अधिवेशन शान्तिपुर्ण एवं सफल ढंगबाट गराउन केन्द्रिय स्तरका नेताहरु खटाएका छन् । तर ती नेताहरुको हस्तक्षेपका बाबजुद मधेश प्रदेशका राजधानी जनकपुर सहित धेरैजसो ठाउँमा विवाद समाधान हुन सकेको छैन । गत आइतवार महोत्तरीको मनरा शिसवा नगरपालिकामा नगर अधिवेशनको क्रममा दुई पक्षबीच झडप नै भएको थियो ।

त्यसक्रममा भएको कुटाकुटमा एक जना गम्भीर घाइते भएका थिए भने चार जना सामान्य घाइते भएका छन्। केहीदिनअघि बाराको कलैयामा समेत वडा अधिवेशनको क्रममा असन्तुष्ट पक्षले अधिवेशन स्थलमा तोडफोड गरेका थिए । पार्टीका नेताहरुका अनुसार यसरी दर्जनौ वडा एवं पालिकामा कुटपिट, तोडफोड, धकेलाधकेल, आरोप प्रत्यारोप जस्ता घटना भएका छन ।


पार्टीले विवाद साम्य हुने नसकेका वडा एवं पालिकाहरुमा अधिवेशन नै तत्कालका लागि रोकेको छ । सप्तरी, सिराहा र महोत्तरी, धनुषा र सर्लाही जिल्लाका विभिन्न पालिकाका निर्वाचन प्रक्रिया स्थगन गरिएको हो । धनुषाको जनकपुर उपमहानगरपालिका, जनकनन्दिनी गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका लगायतका विवादित क्षेत्रहरू र सर्लाहीका हरिपूर्वा नगरपालिकाको निर्वाचन प्रक्रिया रोकिएको हो । त्यसैगरि सप्तरी र सिराहाको विवादित सबै स्थानीय तह तथा वडा, महोत्तरीको जलेश्वर नगरपालिका, एकडारा गाउँपालिका, मटिहानी नगरपालिका, मनरा शिसवा नगरपालिका, पिपरा गाउँपालिका र अन्य विवादित क्षेत्रहरूको अधिवेशन रोक्न निर्देशन दिइएको छ ।

ती स्थानीय तहबाट उजुरी परेको भन्दै प्रक्रिया रोक्न निर्देशन दिइएको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताएका छन । उनका अनुसार निर्वाचन लोकतान्त्रिक, निष्पक्ष र मर्यादित बनाउने आयोगको अभियानमा सहयोग गर्न र यो निर्देशन तत्काल लागू गर्नको लागि निर्देशन समेत दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *