सामाजिक फीड–
जनकपुरधाम, जेठ १९ गते ।
गत प्रतिनिधिसभा निर्वाचनमा खाता समेत नखुलेपछि जनता समाजवादी पार्टी ९जसपा० नेपाल र जनमत पार्टीबीच एकीकरणको तयारी सुरु भएको छ ।
एकीकरण सम्भव नभए कम्तीमा कार्यगत एकता गरेर अघि बढ्ने विषयमा दुबै दलबीच आन्तरिक छलफल तीव्र बनेको छ । मधेशमा वैकल्पिक शक्तिको रुपमा संगठित एवं प्रभावशाली हुने उद्देश्यले दुबै दलले छलफल अघि बढाएका हुन् । जसपा र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बीचको एकीकरणपछि जनमत पार्टीले समेत जसपासँग नजिकिने इच्छा देखाएको हो । गत प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको लहरपछि दिनदिनै जसपा र जनमत पार्टी कमजोर बन्दै गएका छन ।
२०७९ सालको निर्वाचनमा मधेश प्रदेशमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको जनमत पार्टी पछिल्लो समय संगठनात्मक रुपमा तितरबितर हुँदै गएको छ । विभिन्न ठूला नेताले पार्टी छोडेका छन् भने केन्द्रिय नेतृत्वसँगको टसलले थप नेताहरु पार्टीबाट रुष्ट छन् । तत्कालीन उपाध्यक्ष अब्दुल खान, उपाध्यक्ष दीपक साह, पुर्व मुख्यमन्त्री सतिशकुमार सिंह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव, प्रवक्ता शरतसिंह यादवलगायतका नेताहरू पार्टीबाट अलग भइसकेका छन् । साथै अगामी प्रदेशसभाको निर्वाचनसम्म पटक पटक मन्त्री बनेका जनमतका नेताहरु महेश प्रसाद यादव, बसन्त कुशवाहाहरु समेत पार्टीमा रहने वा नरहने निश्चित छैन् । नेतृत्वलाई बाइपास गरि पछिल्लो समय उनीहरुले आफु अनुकुल निर्णय लिइरहेका छन् ।
यसरी पार्टीका संस्थापन तहका नेता तथा प्रभावशाली पदाधिकारीहरू एकपछि अर्को गर्दै बाहिरिएपछि अध्यक्ष राउत दबाबमा छन ।
संगठनभित्रको असन्तुष्टि बढिरहेका बेला डा। राउतले आफ्ना दाजु चन्द्रकान्त राउतलाई पार्टीको महत्त्वपूर्ण जिम्मेवारी दिएका छन् । धेरैजसो नेताहरु जनमतका अध्यक्ष राउतले दाई सहित परिवार एवं आफन्तहरुलाई अघि सारेकोमा पनि रुष्ट छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार पार्टीभित्रको असन्तुष्टि, नेतृत्वमाथिको प्रश्न र घट्दो जनाधारका कारण जनमत अहिले बलियो राजनीतिक साझेदारको खोजीमा देखिएको छ । यही कारण मधेशमा अहिले पनि अन्य मधेशवादी दलको तुलनामा जनाधार बलियो रहेका जसपासँगको सहकार्यलाई जनमतले प्राथमिकता दिएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता महन्थ ठाकुर तथा जनमत अध्यक्ष राउतबीच कार्यगत एकता र सम्भावित एकीकरणबारे पटक–पटक छलफल भएको छ । जसपाका नेता डा।सुरेन्द्र झाका अनुसार दुवै दलका शीर्ष तथा दोस्रो तहका नेताहरूबीच सकारात्मक संवाद भइरहेको छ ।
पार्टी एकीकरणको मिति, नेतृत्व संरचना तथा कुन सर्तमा पार्टी एकता गर्ने लगायतका विषयमा भने हालसम्म कुनै ठोस निर्णय नभएको नेता झाले बताए । तर मधेशका मुद्दा, समावेशी तथा समानुपातिक प्रणालीको रक्षा, संघीयताको सुदृढीकरण र मधेश प्रदेश सरकारसँग सम्बन्धित विषयमा साझा धारणा बनाएर अघि बढ्ने अनौपचारिक समझदारी भने विकसित भएको उनले बताए ।
जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता तथा पार्टीका महासचिव चन्दन सिंहले पनि जसपासँग पार्टी एकताको विषयमा सकारात्मक ढंगले छलफल भइरहेको पुष्टि गरे । केन्द्रस्तरमा दुवै पार्टीका शिर्ष नेतृत्व बीच संवाद जारी रहेको र वार्ता सकारात्मक दिशातर्फ अगाडि बढिरहेको उनको भनाइ छ । यद्यपि, हालसम्म कुनै ठोस निष्कर्ष भने निस्किएको उनले बताए । मुलुकको बदलिँदो राजनीतिक अवस्था तथा मधेशकेन्द्रित दलहरूको घट्दो प्रभावलाई ध्यानमा राख्दै साझा राजनीतिक मोर्चा आवश्यक भएको उनको भनाइ छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।