Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ १९  गते ।

पक्राउ पुर्जी जारी भएपछि भागेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । पर्साको ठोरीमा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट आज बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए।

जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछि सिंह पक्राउ परेका हुन्। यही विषयमा अनुसन्धान गर्न सोमबार प्रहरीले मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई पनि नियन्त्रणमा लिएको थियो।
मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई छोरी बनाएर फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएर लिखित सम्बन्धी कसूर गरेको आरोप छ। अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेर नागरिकता, राहदानी बनाई विदेश पठाएको आरोप सिंहमाथि लागेको हो।

त्यही कसुरमा राजेशमान विरूद्ध पर्सा जिल्ला अदालतमा लिखतसम्बन्धी कसुर, झूटा विवरण पेस गरी नागरिकता र राहदानी बनाएको आरोपमा मुद्दा चलिरहेको छ। त्यसमध्ये नागरिकता लिखतसम्बन्धी कसुरको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

स्थानीय लियाकत अलीको जाहेरीले जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी मुद्दामा राजेशमान, सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज।महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरूद्ध सातदिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि जेठ १३ गते नगरप्रमुख सिंह पर्सा जिल्ला अदालत पुगेका थिए तर त्यस लगत्तै उनी फरार भएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ ९ग० बमोजिम सरकारी वा सार्वजनिक लिखत कसुर गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। मेयर सिंहलाई पनि सोही सजाय माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *