Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ १८ गते ।

नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति फेरि आन्दोलनमा उत्रिएका छन् । सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा नयाँ कमला पुल निर्माणका लागि बजेट विनियोजन नगरिएको भन्दै उनीहरु सरकार विरुद्ध नाराबाजी गरेको छ ।

सिरहा र धनुषा जोड्ने कमला पुललाई राज्यले बारम्बार उपेक्षा गरेको र अहिलेको सरकारले निर्माण गर्ने आस्वासन दिएर ठगेको भन्दै समिती आक्रोशित बनेको हो । धनुषा र सिराहा जिल्लाका हजारौँ नागरिकको प्रत्यक्ष सरोकार र आर्थिक जीवनसँग जोडिएको यस पुलको निर्माण कार्य वर्षौँदेखि अन्योलमा रहँदै आएको छ। स्थानीयवासीले अब आश्वासन मात्र नभई ठोस रूपमा निर्माण कार्यको थालनी हुनुपर्ने माग राख्दै आएका छन्।


यसै शिलशिलामा समितिले सोमबार मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवलाई तत्काल पुल निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । उनीहरुले पुल निर्माणका लागि तत्काल बजेट सुनिश्चित गर्न माग गरेका हुन् । पूर्व सहमति अनुसार सङ्घीय बजेटमा यो आयोजना नपरेकाले अब मधेस प्रदेश सरकारले आफ्नै आन्तरिक स्रोतबाट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने सङ्घर्ष समितिका संयोजक इन्जिनियर प्रवीण यादवले बताए ।

यसअघि नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति र मधेस प्रदेश सरकारबिच आर्थिक वर्ष २०८३, ८४ को सङ्घीय बजेटमार्फत आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्ने सहमति भएको थियो। उक्त लिखित सहमतिमा यदि सङ्घीय सरकारले बजेट उपलब्ध नगराएमा मधेस प्रदेश सरकारले आफ्नै आन्तरिक स्रोतबाट कुल लागत व्यहोर्ने तथा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयारीका लागि बोलपत्र आह्वान गर्ने स्पष्ट उल्लेख थियो।

तर सङ्घीय सरकारको बजेटमा कमला पुल निर्माणका लागि कुनै पनि रकम विनियोजन नभएपछि सङ्घर्ष समितिले प्रदेश सरकारलाई पूर्वसहमतिको सम्झना गराउँदै ध्यानाकर्षण गराएको हो। प्रदेश सरकारलाई आफ्नो प्रतिबद्धता अक्षरशः पूरा गर्न आग्रह गर्दै माग अविलम्ब सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने समितीले चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *