Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ १८ गते ।

सिरहामा विभिन्न ग्रुप तथा ग्याङका नाममा समाजमा आतंक मच्चाउन खोज्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा चोहर्वा सडकमा विशेष अपरेसन चलाएर प्रहरीले २१ थान मोटरसाइकलसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनीहरुले किङ अफ बलान, किङ अफ भगवानपुर, किङ अफ लहान, किलर्स ब्रदरलगायतका ग्याङका नाममा टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमा अकाउन्ट र ग्रुप बनाई आतंकित पार्ने, गालीगलौज र धम्कीयुक्त भिडियो पोष्ट गर्ने गर्दै आएका थिए ।

पक्राउ पर्नेमा सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना रहेका छन् । उनीहरूको मोबाइलसमेत नियन्त्रणमा लिई चेकजाँच तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरू अधिकांश लागूऔषध सेवनकर्ता रहेकोे र सुरक्षा व्यवस्थालाई चुनौती दिने कार्य गर्दै आएको पाइएको छ ।

समाजमा शान्ति सुरक्षा भंग गर्ने खालको व्यवहार प्रदर्शन गर्दै आएको र आपराधिक कार्यमा समेत संलग्न हुन सक्ने आकलनसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार उनीहरूले बिना हेल्मेट र बिना नम्बर प्लेटका मोटरसाइकलसहित पनि भिडियो बनाउने गरेका थिए ।

प्रहरीले उनीहरूको नेतृत्व गर्ने अन्य व्यक्तिको पनि खोजी गरिरहेको छ । जिल्लामा सक्रिय यस्ता अन्य ग्याङ तथा समूहमाथि समेत निगरानी बढाइएको भन्दै प्रहरीले समाजमा आतंक मच्याउन खोज्ने यस्ता व्यक्तिबारे सूचना दिनसमेत जनसाधारणलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *