सामाजिक फीड–
जनकपुरधाम, जेठ १३ गते ।
रौतहटको चन्द्रनिगाहपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–स्थित जुडिबेला नजिक यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिएको हो।
प्रहरीका अनुसार ना ५ ख ७२४८ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना २५ प १०८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो। मृतक करिब २३ वर्षका युवक रहेको अनुमान गरिएको भए पनि उनको पहिचान खुल्न सकेको छैन।
दुर्घटनापछि बस चालक मकवानपुर गढी गाउँपालिका–३ का ५९ वर्षीय लक्ष्मीभक्त ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय चपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।