सामाजिक फीड–
जनकपुरधाम, जेठ १३ गते ।
महोत्तरीको जलेश्वर नगरपालिका-१२ थरुवाही गाउँका १२ वर्षीय गौतम यादव विगत सात दिनदेखि बेपत्ता भएका छन्।
गौतम जेठ ७ गते बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका-२ स्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल जान निस्किएका थिए। उनी थरुवाही गाउँ निवासी आशुतोष यादव र पुनमाया यादवका छोरा हुन्।
विद्यालय समय सकिएपछि पनि गौतम घर नफर्केपछि परिवारले विद्यालयमा सम्पर्क गरेको थियो। तर विद्यालय प्रशासनले उनी त्यस दिन विद्यालय नै नआएको जानकारी दिएको थियो।
छोरा सात दिनदेखि सम्पर्कविहीन भएपछि बुवा आशुतोष यादव र आमा पुनमाया यादवले उनको अपहरण भएको वा बेचबिखनमा परेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्। उनीहरूले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराउँदै खोजी कार्य तीव्र बनाउन आग्रह गरेका छन्।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।