Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ १३ गते ।

मधेश प्रदेशका सबै सबै अस्पतालमा एन्टिरेबिज भ्याक्सिन (एआरभी) को अभाव भएको छ । यसले कुकुरले टोकेका बिरामी कि त धेरै महँगो उपचार गराउनु परेको छ कि त नसक्नेले उपचारबाटै वञ्चित हुनु परेको छ । मधेश प्रदेशमा विगत चार महिनादेखि सरकारले एन्टिरेबिज भ्याक्सिन पठाएको छैन् । सरकारले मधेश प्रदेशका ४४ वटा अस्पताल तथा स्वास्थ्य संस्थालाई भ्याक्सिन उपलब्ध गराउने गरेको छ ।

तर फागुनदेखि कुनै पनि स्वास्थ्य संस्थामा भ्याक्सिन उपलब्ध छैन । सरकारी अस्पतालमा निःशुल्क पाइने सो भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेका बिरामी निजी स्वास्थ्य संस्थाबाट महँगोमा खरिद गरी भ्याक्सिन लगाउन बाध्य छन् । बिरामीले बाहिर किन्दा एक डोज एन्टिरेबिज भ्याक्सिनलाई छ सयदेखि सात सय रुपियाँसम्म पर्छ ।
धेश प्रदेशका ४४ वटा स्वास्थ्य संस्थामा मासिक सात हजार पाँच सय भाइल एन्टिरेबिज खोपको कोटा रहेको छ तर सङ्घीय सरकारले कहिले दुई हजार, कहिले दुई हजार पाँच सय त कहिले पाँच हजार भाइल खोप पठाउने गरेको छ । कोटा अनुसारको भ्याक्सिन कहिलै पनि आउँदैन ।

कोटाभन्दा आधा मात्र भ्याक्सिन आउँदा अभाव भइरहेको अवस्थामा गएको फागुनदेखि त सङ्घबाटै भ्याक्सिन आपूर्ति हुन नसकेको हो । सङ्घीय सरकारले प्रदेश सरकार र प्रदेश सरकारले अस्पतालमा भ्याक्सिन पठाउने प्रणाली रहेको छ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र८३ मा एन्टिरेबिज भ्याक्सिनका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएको ७५९ भाइल खोप केही दिनमै सकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले जनाएको छ । केन्द्रका निमित्त निर्देशक डा। नागेन्द्रप्रसाद यादव सङ्घबाट आपूर्ति नहुँदा मधेश प्रदेशभर नै एन्टिरेबिज भ्याक्सिन अभाव रहेको बताउनुहुन्छ । भ्याक्सिनका लागि मन्त्रालयमा बारम्बार ताकेता गरे पनि केन्द्रमा आपूर्तिकर्ताले नै आपूर्ति नगर्दा समस्या परेको उनले जनाए ।

प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा। रामप्रकाश साहले प्रदेशबाटै भ्याक्सिन नआउँदा बिरामीले अत्यधिक गुनासो गर्ने गरेको बताए । माथिबाटै भ्याक्सिन नआउँदा समस्या हुँदै आएपनि बिरामीले अस्पतालले जानाजान भ्याक्सिन नलगाइदिएको जस्तो आक्रोश पोख्ने गरेको सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *