Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ १२ गते ।

महोत्तरीमा वन क्षेत्रमा रहेको अवैध वस्तीमा डोजर चलाउने तयारीपछि आन्दोलनमा उत्रिएका स्थानीयले कालापानी क्षेत्रमा सोमबार साँझ पाँचबजेदेखि गरेको चक्काजामले अहिलेसम्म यातायात अवरुद्ध छ। डिभिजन वन कार्यालय महोत्तरीले कालापानीको बीपी राजमार्ग आसपासको बस्ती खाली गर्न सूचना जारी गरेपछि स्थानीयवासी सोमबार साँझदेखि नै राजमार्ग अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका छन्।

राजमार्ग बन्द हुँदा बर्दिबास(सिन्धुली सडक खण्डमा गाडी चल्न सकेको छैन जसले यात्रुलाई सास्ती भएको छ । प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि गयराति स्थानीयले डिभिजन वन कार्यालय महोत्तरीको एउटा गाडी समेत जलाएका छन्।
महोत्तरीका डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार, सोमबार दिउँसो वन कार्यालयको टोली बर्दिबास नगरपालिका–३ मा अव्यवस्थित बसोबास खाली गराउन सूचना दिन गएको थियो । त्यसपछि स्थानीयले राति बीपी राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।
बाटोको अवरुद्ध खुलाउन गएको प्रहरीसहित वन कार्यालयको टोलीलाई स्थानीयले मंगलबार बिहान २ बजेसम्म घेराबन्दी गरेका थिए । सोहीक्रममा वन कार्यालयको गाडी जलाइएको डीएसपी भट्टले बताए ।


अहिले भने आन्दोलनमा उत्रिएका महोत्तरीको बर्दिबास(३ कालापानी क्षेत्रका स्थानीयवासीसँग स्थानीय प्रशासनले वार्ता सुरु गरेको छ।

अहिले कालापानीको सामुदायिक भवनमा संघर्ष समिति र स्थानीय प्रशासनबिच वार्ता भइरहेको प्रहरीले जनाएको छ।अहिले जारी वार्तामा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकुमार सारु मगर, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिना, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी, संघर्ष समितिका पदाधिकारी र स्थानीयवासी सहभागी छन्। स्थानीयका अनुसार वन कार्यालयले बस्ती उठाउने सूचना गरेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । कालापानी क्षेत्रमा मात्रै करिब तीनसय घर परिवारको बसोबास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *