Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ ११ गते ।

प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवसको मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन्। यसबारे उनले राष्ट्रपति कार्यालयलाई औपचारिक जानकारी गराइसकेका छन्।

हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ। उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुने परम्परा रहेको छ। समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहँदै आएको छ।

तर प्रधानमन्त्री पद सम्हालेपछि सार्वजनिक समारोहहरूमा कमै देखिएका बालेन शाहले यस पटक पनि गणतन्त्र दिवसको मुख्य कार्यक्रममा सम्बोधन नगर्ने निर्णय गरेका हुन्। स्रोतका अनुसार उनले राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध गर्दै पत्र पठाएका छन्।

पत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई मानिने भएकाले गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिबाट सम्बोधन गरिन उपयुक्त हुने उल्लेख गरिएको बताइएको छ।

नेपालको संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ। सोही धाराको उपधारा २ अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा कार्य गर्ने प्रावधान रहेको छ। यही संवैधानिक व्यवस्थाअनुसार यस वर्ष गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *