Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ ११ गते ।

धनुषा, महोत्तरी र सर्लाही खण्डमा महेन्द्र राजमार्गलाई चार लेनमा विस्तार गर्ने कामको गति सुस्त देखिएको छ । कमला-ढल्केबर-पथलैया सडक योजना (पूर्वी खण्ड) अन्तर्गत हालसम्म कुल २४.१५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

जबकी विश्व बैङ्कको १८ अर्ब ६० करोड रुपियाँ सहयोगमा सन् २०२७ भित्र राजमार्ग विस्तारको काम सक्ने लक्ष्य राखिएको छ ।
आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासले इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धि, बेमौसमी वर्षा र प्राविधिक चुनौतीका कारण लक्ष्यअनुसार काम अघि बढाउन कठिनाइ भइरहेको बताए । वर्षाको समयमा डाइभर्सन बनाएर यातायात सञ्चालन गर्न निकै कठिन हुने भएकाले पुराना संरचना भत्काइएका ठाउँमा बर्खाअघि नै काम सक्न निर्माण व्यवसायीलाई ताकेता गरिएको उनले बताए ।

राजमार्ग विस्तारको क्रममा धनुषा, महोत्तरी र सर्लाही जिल्लामा निर्माणाधीन कुल एक सय वटा कलभर्टमध्ये ४७ वटाको काम मात्रै सम्पन्न भएर सञ्चालनमा आएको छ । बाँकी ५३ वटा कलभर्ट निर्माणाधीन अवस्थामा रहेका छन् । आयोजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर रामटहल यादवका अनुसार राजमार्गमा वर्षौंदेखि लच्का पर्ने स्थानमा अहिले बक्स कलभर्ट निर्माण गरिएकाले पानी निकासको समस्या कम हुने अपेक्षा गरिएको छ । उनले वर्षायाम सुरु हुनुअघि अधिकांश कलभर्ट निर्माण सक्ने गरी कामलाई तीव्र बनाइएको जानकारी दिए ।
कलभर्टसँगै पुल निर्माणको काम पनि अघि बढाइएको छ । यस खण्डका कुल ३३ वटा पुलमध्ये ३१ वटामा निर्माण कार्य जारी रहेको आयोजना कार्यालयले जनाएको छ । तर सर्लाहीको बागमती पूर्वी पुल र महोत्तरीको लक्ष्मीनिया जंगलस्थित जर्लाही पुलको काम भने अझै सुरु हुन सकेको छैन । साँघुरा पुल भएका स्थानमा पुराना संरचना भत्काएर नयाँ पुल निर्माण भइरहेको छ भने केही स्थानमा पुरानै पुलको छेउमा थप दुई लेनको नयाँ पुल थप्ने काम भइरहेको छ ।

हाल धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्म ७४।७५ किलोमिटर सडक खण्डमा चार लेन विस्तारको काम भइरहेको छ । विश्व बैंकको १८ अर्ब ६० करोड रुपैयाँ सहयोगमा सञ्चालित यो आयोजना सन् २०२७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । गत जनवरी १० देखि धनुषाको बडहरी र सर्लाहीको फूलजोरलगायत तीन स्थानबाट स्तरोन्नतिको काम एकैसाथ सुरु गरिएको थियो ।
स्थापनाकालदेखि दुई लेनमा रहेको महेन्द्र राजमार्गलाई बजार तथा व्यापारिक क्षेत्रमा दुवैतर्फ साढे ६ मिटरको सर्भिस लेनसहित ६ लेन तथा अन्य क्षेत्रमा चार लेनमा विस्तार गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *