सामाजिक फीड–
जनकपुरधाम, जेठ ८ गते ।
सर्लाहीको लालबन्दी नगरपालिका-१७ स्थित रानीगन्जको कालिन्जोरखोलाबाट सम्झौताभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ ।
अनियन्त्रित उत्खनन भइरहेको भन्दै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि लालबन्दी नगरपालिकाले प्राविधिक टोली खटाएर उत्खनन क्षेत्रको नापजाँच गरेको थियो । जाँचका क्रममा सम्झौताभन्दा १९ हजार घनमिटर बढी गिट्टी र बालुवा उत्खनन गरिएको भेटिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलका अनुसार सम्झौताविपरीत उत्खनन गरेको पाइएपछि ठेक्का लिएको कुण्डलिनी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई एक लाख २० हजार रुपैयाँ जरिबाना गरिएको छ । साथै अतिरिक्त उत्खनन गरिएको नदीजन्य पदार्थबापत कम्पनीले थप ४४ लाख रुपैयाँ राजस्व बुझाउनुपर्ने राजस्व शाखा प्रमुख गोपाल थापाले जानकारी दिएका छन् ।
कमलामाई नगरपालिका-६, सिन्धुलीस्थित उक्त कम्पनीले चालु आर्थिक वर्ष २०८२र८३ का लागि कालिन्जोरखोलाका तीन वटा नाकाबाट नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएको थियो । २०८२ पुस ९ गते भएको सम्झौताअनुसारको परिमाण उत्खनन पूरा भइसकेपछि जेठ ४ गतेदेखि उत्खनन कार्य बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
जेठ मसान्तसम्मका लागि ठेक्का सम्झौता भए पनि तोकिएको परिमाणभन्दा बढी उत्खनन गरिएको पुष्टि भएपछि करिब एक महिनाअघि नै काम रोकिएको हो । उत्खनन बन्द गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय तथा सुरक्षा निकायलाई समेत पत्रमार्फत गराइएको छ ।
कालिन्जोरखोलामा भइरहेको मनपरी उत्खननबारे परेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिकसहितको टोलीले पनि एक साताअघि स्थलगत निरीक्षण गरेको थियो । त्यसपछि नगरपालिकाले आफ्नै प्राविधिकमार्फत विस्तृत नापजाँच गराएको हो ।
उत्खनन रोक्न निर्देशन दिएपछि प्रयोगमा रहेका दुई वटा टिप्पर नियन्त्रणमा लिएर कारबाही गरिएको नगरपालिकाले जनाएको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।