Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ ८ गते ।

मापदण्ड विपरित मधेश प्रदेश सरकारले गत आर्थिक वर्षमा ३३ करोडभन्दा बढी रकम खर्च गरेर निर्माण कार्य गरेको पाइएको छ । महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदनले प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले पुरातात्त्विक र ऐतिहासिक परम्परागत निर्माणका मापदण्ड विपरीत मधेस प्रदेशका विभिन्न स्थानमा उक्त रकम खर्च गरेको हो ।

आर्थिक वर्ष २०८१.८२ मा मन्त्रालय अन्तर्गत रहेको तीन वटा पर्यटन विकास कार्यालयले परम्परागत र पुरातात्त्विक मापदण्ड, मौलिक वास्तुकला, वास्तुशास्त्र, शिल्पशास्त्रका मानकहरू तयार नगरी कंक्रिटजन्य पूर्वाधार निर्माण कार्यहरू गरेको प्रतिवेदनमा भनिएको छ । मन्त्रालयले गत वर्ष २ अर्ब बजेट विनियोजन गरी ४ वटा विकास कार्यालयमार्फत १५० भन्दा बढी धर्मशाला, ३ सयभन्दा बढी मन्दिरहरूको सौन्दर्यीकरण, गुम्बा निर्माण र पहुँचमार्ग विस्तारका साना योजनाहरू सञ्चालन गरेको छ ।

यसत्र क्रममा तीन पर्यटन विकास कार्यालयले ९५ वटा योजनामा २७ करोड ४४ लाख ९१ हजार खर्च गरेकोमा प्रमाण नराखेको देखिएको छ । पुरातात्त्विक र ऐतिहासिक महत्वका संरचना निर्माण गर्दा परम्परा एवं विधिलाई समेत पालना हुने गरी निर्माण हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, १२ वटा मस्जिद निर्माणमा ४ करोड १२ लाख ४८ हजार खर्च भएकोमा ऐतिहासिक मान्यता समेतका आधारमा यस्ता निर्माण कार्यमा खर्च गर्नुपर्ने महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १११ ९ङ० मा सम्झौता कार्यान्वयनको अनुगमन गर्ने व्यवस्था रहेकोमा मन्त्रालय अन्तर्गतका कार्यालयमा गत विगतका अधुरा निर्माण यकिन नगरी २७ योजनामा खर्च गरे पनि उक्त वर्ष पनि अधुरै रहेको जनाएको हो ।

मन्त्रालयले गत वर्ष अधुरा मन्दिर निर्माण तथा सौन्दर्यीकरण, छठघाट, गुम्बा, मस्जिद, बाटो लगायतका कार्यमा २ करोड ३७ लाख खर्च गरेको हो । गत आव २०८१, ८२ मा बौद्ध दर्शन तथा गुम्बा विकास समितिले गुम्बा निर्माणका लागि मौलिक बौद्ध वास्तुकला, स्थानीय सामग्री र प्रतीकात्मक संरचना जोगाउने अभ्यासमा आधारित परम्परागत मापदण्डहरू रहेकोमा कंक्रिटजन्य कार्यहरू सिमेन्ट, रड प्रयोग गरी परम्परागत काठका आकृति, परम्परागत छाना, रंग संयोजन, बौद्ध चर्या अनुरूपका चिन्हहरू र परम्परागत मापदण्ड संरचना निर्माण कार्यमा समावेश नगरी ३ वटा पर्यटन विकास कार्यालयमार्फत ४ वटा निर्माण संरचनामा १ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ ।

मन्दिर संरचना निर्माणका लागि वास्तुशास्त्र र शिल्पशास्त्रका मापदण्डहरू मन्दिरको दिशा, आकार, मूर्तिको प्रमाण र भूमि शुद्धिको विधि, मन्दिरको मुखाकृति पूर्वतर्फ, गर्भगृह सही स्थानमा, शिखरको उचाइ र पवित्रताका लागि मन्दिर निर्माणमा प्रयोग हुने ढुंगा, इँट्टा, काठ जस्ता प्राकृतिक निर्माण सामग्रीलाई प्राथमिकता र आध्यात्मिक पक्षमा मूर्ति स्थापनाको मुहूर्त, गर्भाधान संस्कार र नित्य पूजाको व्यवस्था सुनिश्चित गरेर मात्र मन्दिर निर्माण कार्यमा खर्च गर्नुपर्नेमा त्यस्तो नभएको प्रतिवेदनमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *