सामाजिक फीड–
जनकपुरधाम, जेठ ८ गते ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिन लागेका छन् । त्यसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर आफ्नै पार्टी कांग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उनी पछि हटेका थिए ।
मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
तीन दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले जसपा नेपाल र जनमतका मन्त्रीहरूलाई राजीनामा गर्न निर्देशन दिएका थिए ।
जनमतबाट अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री बसन्त कुशवाहाले राजीनामा दिएका थिए । तर जसपाका तीनजना मन्त्रीले राजिनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको छ । जसपाबाट मन्त्री रहेका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन बर्खास्तीमा परेका हुन् ।
लगतै मुख्यमन्त्री यादवले बिहीबार एमालेलाई सरकारमा सहभागी गराइ मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । एमालेका तर्फबाट मोहम्मद समिमलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ। उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।
मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि सरकारलाई पूर्णता दिने बताएका छन्।
तीन दलीय गठबन्धनको मधेश प्रदेशमा स्पष्ट बहुमत पुग्छ । १०७ सदस्य प्रदेश सभामा सरकारको विश्वासको लागि ५४ सिट आवश्यक पर्छ । मधेशमा लोसपा जसपा नेपालमा एकीकरण भएर समाहित भएपछि उसको २६ सिट छ । दुईजना सांसद हाल निलम्बनमा छन् ।
एमालेको २४, कांग्रेस २२, नेकपाको १५ सिट छ । यसरी बनेको नवगठबन्धनको ६१ सिट पुग्छ । जनमतको १२, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एकएक जना प्रदेश सभा सदस्य छन् ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।