Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ ७ गते ।

मधेस प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा अझै घट्ने देखिएको छ। पर्याप्त वर्षा नहुँदा कृषि उत्पादनमा परेको प्रत्यक्ष असरले यस्तो अवस्था सिर्जना भएको हो । विशेषगरी धान, मत्स्य तथा वन क्षेत्रको उत्पादन घटेपछि प्रदेशको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गतको तथ्याङ्क समन्वय कार्यालय धनुषाले जनाएको छ। कार्यालयले सार्वजनिक गरिएको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी समष्टिगत आर्थिक सूचकअनुसार मधेसको आर्थिक वृद्धिदर पछिल्ला तीन वर्षकै न्यून अवस्थामा पुग्ने अनुमान गरिएको छ।

कार्यालयका तथ्याङ्क अधिकृत नरबहादुर कुँवरका अनुसार यस वर्ष समयमै पर्याप्त पानी नपर्दा धानबालीमा ठूलो असर परेको छ भने पोखरी तथा जलाशयमा पानीको सतह घट्दा मत्स्य उत्पादनसमेत प्रभावित बनेको छ। कृषिमा आधारित अर्थतन्त्र रहेको मधेसमा वर्षा अभावले सिधै उत्पादन, आम्दानी र रोजगारीमा असर पार्ने भएकाले आर्थिक गतिविधि समग्रमा सुस्त बनेको उनको भनाइ छ। कृषि क्षेत्रको उत्पादन लगातार कमजोर बन्दै जाँदा त्यसको प्रभाव उद्योग, व्यापार तथा सेवा क्षेत्रमा समेत देखिन थालेको तथ्याङ्कले संकेत गरेको छ।

आर्थिक वर्ष २०८०र८१ मा मधेस प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव १८ प्रतिशत रहेको थियो भने २०८१र८२ मा त्यो घटेर दुई दशमलव ७२ प्रतिशतमा सीमित भएको थियो। चालु आर्थिक वर्ष २०८२र८३ मा भने वृद्धिदर अझ कमजोर रहने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ। लगातार दुई वर्षदेखि देखिएको खडेरी, मौसमीय असन्तुलन र कृषि उत्पादनमा आएको गिरावटले प्रदेशको आर्थिक आधार नै दबाबमा परेको कार्यालयको निष्कर्ष छ।

मधेस प्रदेशको अर्थतन्त्रमा कृषिको हिस्सा अत्यधिक भएकाले उत्पादन घट्दा त्यसको प्रभाव प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष देखिएको विश्लेषण गरिएको छ। कृषि क्षेत्रसँगै वन तथा मत्स्य क्षेत्रले अपेक्षाकृत कम योगदान दिएपछि राष्ट्रिय अर्थतन्त्रमा मधेसको हिस्सा पनि सीमित हुने देखिएको छ। प्रारम्भिक अनुमानअनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको योगदान १३ दशमलव एक प्रतिशत रहनेछ।
तथ्याङ्क सार्वजनिक कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले कृषिमा आएको गिरावट नै आर्थिक सुस्तताको मुख्य कारण भएको बताए। उनले आगामी बजेटमार्फत कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ विस्तार, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेर आर्थिक गतिविधि चलायमान बनाउने तयारी भइरहेको जानकारी दिए। मौसममा बढ्दो अनिश्चितता र कृषि प्रणालीको परम्परागत निर्भरताका कारण मधेसको अर्थतन्त्र अहिले पनि वर्षामै अत्यधिक आश्रित रहेको अवस्था यो तथ्याङ्कले पुनः उजागर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *