सामाजिक फीड–
जनकपुरधाम, जेठ ७ गते ।
सिराहा प्रहरीले २६ ग्रामभन्दा बढी प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका-४ का ३२ वर्षीय रामउदगार यादव, सिराहा नगरपालिका–२२ का ३६ वर्षीय राम बिलेक्षण यादव र भारतको विहार राज्य अन्तर्गत मधुवनी ग्राम पञ्चायत खाजेडी–५ का अन्दाजी २१ वर्षीय चन्दन कामती रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विष्णुपुर गाउँपालिका–१ स्थित सिराहा–चोहर्वा सहायक सडकखण्डमा विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्यूरो गोलबजार र इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सिराहाबाट काठमाडौं जाँदै गरेको बा।प्र।०३–००१ ख ३५३७ नम्बरको यात्रुवाहक बस रोकी तलासी गर्दा रामउदगार यादवको साथबाट २६ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट एक थान डिजिटल तराजुसमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी रमेश बहादुर पाल का अनुसार पक्राउ परेकामाथि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।