सामाजिक फीड–
जनकपुरधाम, जेठ ६ गते ।
जेन-जी’ आन्दोलनको अवसर पारेर २४ भदौ २०८२ मा महोत्तरीस्थित जलेश्वर कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन् ।
मजलेश्वर नगरपालिका-२ मा रहेको जलेश्वर कारागार तोडेर भागेका कुल ५७६ जना कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेको जेल प्रशासनले जनाएको छ । जेलर अशोककुमार क्षेत्रीका अनुसार फर्किने क्रम अझै जारी छ । हालसम्म फर्किएका कैदीबन्दीमध्ये ३१६ जना नेपाली र १० जना भारतीय नागरिक रहेका छन् ।
कारागार प्रशासनले घटनापछि नै सबै फरार कैदीबन्दीलाई स्वेच्छाले फर्किन आग्रह गरेको थियो । तर अझै सम्पर्कमा नआएका कैदीबन्दीमाथि कारागार ऐन २०७९ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने जेलर क्षेत्रीले बताए । फरारलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कानुनी कारबाही हुने उनले चेतावनी दिएका छन् ।
भागेका कैदीबन्दीमध्ये १३ जनालाई भारततर्फ जाँदै गर्दा भारतीय प्रहरीले पक्राउ गरी नेपाल फर्काएको थियो भने अन्य कैदीबन्दी स्वेच्छाले कारागारमा फर्किएका हुन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार फरार कैदीबन्दीको खोजीका लागि सुरक्षा निकाय परिचालित छन् ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।