Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेठ ५ गते ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर चार महिनादेखि जारी विवाद झन् चर्किएको छ । संघ सरकारले विवाद समाधानका लागि कुनै पहल नगरेको भन्दै महानगरपालिकाले सम्पूर्ण सेवा बन्द गर्ने र कार्यालयको साँचो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाउने महानगरले निर्णय गरेको छ ।

महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम तथा अधिकांश वडाध्यक्ष सहभागी बैठकले यस्तो निर्णय गरेको महानगर प्रमुखका प्रेस सल्लाहकार नवराज फुयालले जानकारी दिए । उनका अनुसार महानगरले बुधबार मन्त्रालयमै पुगेर साँचो बुझाउने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार महिनाअघि सहसचिव रेशमलाल कँडेललाई वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । तर, महानगरले आफ्नो सहमतिबेगर सरुवा गरिएको भन्दै सुरुदेखि नै उनलाई हाजिर गराउन अस्वीकार गर्दै आएको छ ।

सुशीला कार्की नेतृत्वको सरकारले १२ फागुन २०८२ मा कँडेललाई वीरगन्ज महानगरपालिकामा पठाउने निर्णय गरेको थियो । महानगरका अनुसार सरुवापछि कँडेल तत्काल कार्यालयमा हाजिर हुन नआई काठमाडौंमै बसेर विभिन्न सञ्चार माध्यममार्फत महानगरलाई बदनाम गर्ने गतिविधिमा संलग्न भएकाले उनलाई कुनै पनि अवस्थामा हाजिर नगराउने अडान कायम राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *