Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेठ ५ गते ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह ले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै कडा आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले परम्परा तोड्ने नाममा संसदीय अभ्यास कमजोर बनाउने काम गरिरहेको आरोप लगाए। संसदीय व्यवस्थामा बजेटसम्बन्धी छलफल हुँदा अर्थमन्त्री अनिवार्य उपस्थित हुने परम्परा रहेको उल्लेख गर्दै उनले त्यसको पालना नगर्नु संसदको औचित्यमाथि नै प्रश्न उठाउने विषय भएको बताए।

सांसद सिंहले परराष्ट्रमन्त्रीले बजेटसम्बन्धी छलफलमा सहभागिता जनाउनु अस्वाभाविक भएको टिप्पणी गर्दै भने, ‘बजेटमाथिको छलफलमा अर्थमन्त्री उपस्थित हुने अभ्यास रहँदै आएको थियो। तर अहिले अर्थमन्त्री नै अनुपस्थित छन्। यदि नयाँपनको नाममा सबै संरचना भत्काउने हो भने सिंहदरबार, प्रधानमन्त्री र मन्त्री पद पनि हटाइदिए हुन्छ।’ उनले संसदीय प्रणालीमा सांसदले सरकारसँग जनताका सवाल उठाउने भएकाले यस्ता परम्परा जोगाउन आवश्यक रहेको धारणा राखे। आफू  छ पटक सांसद भइसकेको उल्लेख गर्दै उनले बजेटमाथिको छलफल अर्थमन्त्रीबिनै सञ्चालन भएको पहिलो पटक देखेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *