Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेठ ५ गते ।

मधेश प्रदेशमा संसदीय दलको नेता को बन्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकीकरणपछि दलको नेता चयनमा विवाद उत्पन्न भएको हो ।

तत्कालीन जसपा र लोसपा दुबै पार्टीका संसदीय दलका नेताले एकीकृत पार्टीको संसदीय दलको नेतामा दावी गरिरहेका छन् । जसपाभित्रको यहीँ विवादका कारण गत शुक्रवार मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन सकेका थिएनन् । शुक्रबार सदन सञ्चालन हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जसपा नेपाल र लोसपा नेपाल दुवै दलको नेताले आफू दलीय नेता भएको दाबी गरेका थिए।

एकताअघिका तत्कालीन जसपाका संसदीय दलका नेता सरोजकुमार यादव थिए भने लोसपाका दलका नेता जितेन्द्र सोनल थिए । यो विवाद टुंग्याउन बुधबार मधेस प्रदेशमा संसदीय दलको नेताको निर्वाचनको तयारी सुरु भएको छ । एकीकरणपछि जसपा नेपाल मधेस प्रदेशमा सबैभन्दा ठूलो दल बनेको छ। तत्कालीन जसपा नेपालका १८ जना र लोसपा नेपालको ८ जना गरी २६ जना एकीकृत पार्टीका सांसद छन् ।

दुई जना निलम्बनमा रहेका समेत गरेर जसपा नेपालको संख्या २८ सांसद पुग्छ। संसदीय दलका नेताका लागि पूर्वमुख्यमन्त्रीहरू जसपा नेपालबाट सरोजकुमार यादव, पूर्वमुख्यमन्त्री लालबाबु राउत र लोसपा नेपालबाट जितेन्द्र सोनल संसदीय दलको नेताका लागि प्रतिष्पर्धा गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *