सामाजिक फीड–
जनकपुरधाम, जेठ ५ गते ।
सिराहाको नवराजपुर गाउँपालिका-४, नहरनियाँस्थित विपन्न दलित बस्तीमा गाउँपालिकाले डोजर लगाएर घर भत्काइदिएपछि करिब ५० परिवार बिचल्लीमा परेका छन् । ऐलानी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयको घर वैशाख ३० गते डोजर प्रयोग गरेर भत्काइएको थियो ।
घर भत्काइएपछि प्रभावित परिवार त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । चर्को गर्मी, हावाहुरी र वर्षाको जोखिमका बीच उनीहरू खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका छन् ।
स्थानीय जगवीर मण्डलले कुनै वैकल्पिक व्यवस्था नगरी गाउँपालिकाले घर भत्काएको गुनासो पोखे । उनका अनुसार केही परिवारलाई गाउँपालिकाको भवनमा राखिए पनि त्यहाँ शौचालय, पङ्खा लगायत आधारभूत सुविधा छैन ।
त्यस्तै, स्थानीय अमिरिका रजकले घर भत्किएपछि परिवार खाद्यान्न अभावमा परेको र बिरामी छोराको उपचार गर्नसमेत समस्या भएको बताए । वर्षाको समयमा अरूको बरन्डामा आश्रय लिनुपरेको उनको भनाई छ ।
स्थानीयका अनुसार नहरनियाँका दलित तथा विपन्न समुदायका करिब ५० घरपरिवार अहिले बेघर बनेका छन् ।
मानव अधिकारकर्मी राजकुमार राउतले उचित व्यवस्थापन नगरी वर्षायामको मुखमा दलित बस्ती हटाउनु मानवअधिकारविपरीत भएको टिप्पणी गरे ।
यता सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल ले घटनाबारे गाउँपालिकासँग कुनै समन्वय नभएको बताउँदै आवश्यक जानकारी लिने प्रतिक्रिया दिए ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।