सामाजिक फीड–
जनकपुरधाम, जेठ १ गते ।
चौतर्फी दबाब परेपछि सर्लाहीको पूर्वाधार विकास कार्यालय मलङ्गवाले बिचौलियालाई दिएको योजना संचालनको चिठी फिर्ता लिएको छ । कमिसन लिएर कर्मचारीले विचौलियालाई चिठी बेचेको समाचारहरु आएपछि कार्यालयले विचौलियालाई दिएको चिठी फिर्ता लिएर वडा कार्यालयलाई दिएको हो । सडक निर्माणका लागि आएको ७५ लाख रुपियाँको योजनाको चिठी वडा कार्यालयमा आएर उपभोक्ता समिती गठन हुनुपर्नेमा बिचौलियाले लगेका थिए ।
सडक सञ्जालमा नजोडिएको लालबन्दी नगरपालिका-१४, नारायणखोलामा सडक निर्माण कार्यको योजनाको चिठी वडा कार्यालयमा आइपुगेको वडाध्यक्ष छेनामसिंह घिसिङले जनकारी दिए । उनका अनुसार गत वैशाख २५ गते पुर्वाधार कार्यालयमा जाँदा अरूले नै योजनाको चिठी लगिसकेको कर्मचारीले बताएका थिए । पछि चौतर्फी दबाब परेपछि बिहीबार आफूलाई कार्यालयमै बोलाएर उक्त चिठी दिएको वडाध्यक्ष घिसिङले जानकारी दिए । अहिले लालबन्दी–१३ र १४ को सीमा नारायणखोलास्थित नारायणदोभानमा ट्रस पुल निर्माण भइरहेको र अब मधेश प्रदेशबाट प्राप्त ७५ लाख रुपियाँबाट सडक बनाएर साबिक नारायणखोला गाविसको केन्द्र मटर दोभानसम्म सडकको ट्र्याक पुर्याउने लक्ष्य रहेको वडाध्यक्ष घिसिङले बताए । उनका अनुसार पूर्वाधार विकास कार्यालयले योजनाको चिठी दिएसँगै शुव्रmबार गाउँलेको भेला गरेर उपभोक्ता समिति गठन गरी काम अघि बढाउने तयारी सुरु भएको छ ।
पूर्वाधार विकास कार्यालय सर्लाहीका निमित्त कार्यालय प्रमुख एवं इन्जिनियर सञ्जयकुमार यादवले आफू गएको शुव्रmबार मात्र कार्यालय प्रमुखका रूपमा हाजिर भएकाले त्यसअघि के कसरी योजनाको चिठी काटिए भन्ने जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । मधेश प्रदेशका सबै पूर्वाधार विकास कार्यालयबाट अधिकांश योजनाको चिठी खरिदबिक्री हुने गरेको व्यापक गुनासो सुनिदै आएको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।