सामाजिक फीड–
जनकपुरधाम, वैशाख ३० गते ।
मधेश प्रदेशसहित देशभर पछिल्ला वर्षहरूमा जंगली जनावर र मानवबीचको द्वन्द्व तीव्र बन्दै गएको छ । वन क्षेत्र मासिँदै जानु, चुरे तथा जंगल आसपास मानव बस्ती विस्तार हुनु र वन्यजन्तुको प्राकृतिक बासस्थान खुम्चिँदै जाँदा जंगली जनावर गाउँ पस्ने तथा मानिसमाथि आक्रमण गर्ने घटना बढिरहेको पाइएको हो ।
धनुषाको मिथिला नगरपालिका क्षेत्रमा करिब तीन महिनादेखि आतंक मच्चाइरहेको चितुवा गत बुधबार उद्धार गरिएको थियो । मिथिला नगरपालिका–७ केमलीपुरमा निलगाई रोक्न लगाइएको तारजालीमा चितुवा फसेपछि स्थानीयवासीको भीड लागेको थियो । त्यसक्रममा चितुवा हेर्न पुगेका ४८ वर्षीय किर्तिमान विकमाथि चितुवाले आक्रमण गर्दा उनी घाइते भएका थिए ।
मिथिला वाइल्ड लाइफ ट्रस्टका अनुसार मिथिला नगरपालिकाको चुरे क्षेत्रमा सन् २०१७ मा पहिलो पटक क्यामेरा ट्र्यापमा चितुवा देखिएको थियो । त्यसपछि सन् २०१९, २०२१ र २०२३ मा पनि चितुवाको उपस्थिति रेकर्ड गरिएको थियो । पछिल्लो तीन महिनादेखि भने सोही क्षेत्रमा देखिएको एउटा चितुवाले आसपासका गाउँमा निरन्तर बाख्रा मार्न थालेपछि स्थानीय त्रसित बनेका थिए ।
वन्यजन्तु आक्रमणका घटनाले मधेश प्रदेशका अन्य जिल्लासमेत प्रभावित भएका छन् । गत वैशाख १३ गते सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो । अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरका ६६ वर्षीय यज्ञश्वर निरौला आफ्नै बारीमा राति मकै कुरेर बसेका बेला हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसै साँझ लालबन्दी नगरपालिका-१५ झरझरा पिङखोल्सीमा बँदेलको आक्रमणबाट ३२ वर्षीय प्रेमबहादुर थिङको मृत्यु भयो । मकैबारीमा पसेको बँदेल धपाउने क्रममा अन्य स्थानीयसँगै लखेटिरहेका बेला बँदेलले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि लालबन्दी बजारतर्फ ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को चैत मसान्तसम्म मधेश प्रदेशमा मात्रै वन्यजन्तु आक्रमणका १३१ घटना भएका छन् । ती घटनामा ७ जनाले ज्यान गुमाएका छन् भने १३१ जना घाइते भएका छन् ।
देशभर भने यस अवधिमा जनावर आक्रमणका ४९७ घटना दर्ता भएका छन् । ती घटनामा ५५ जनाको मृत्यु भएको छ भने ४४१ जना घाइते भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार चालु आवको नौ महिनामा वन्यजन्तु आक्रमणपछि १ जना बेपत्ता भएका छन् भने ५ जना विस्थापित भएका छन् ।
प्रहरीको तथ्यांकअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी १६५ वटा वन्यजन्तु आक्रमणका घटना भएका छन् । त्यहाँ १२ जनाको मृत्यु हुँदा ६८ जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा ६९ वटा घटनामा १९ जनाले ज्यान गुमाएका छन् भने ५७ जना घाइते भएका छन् । बाग्मती र सुदूरपश्चिम प्रदेशमा ६र६ जनाको मृत्यु भएको छ भने कर्णाली प्रदेशमा ५ जनाले ज्यान गुमाएका छन् र ३८ जना घाइते भएका छन् ।
पछिल्ला वर्षहरूमा वन्यजन्तु आक्रमणका घटना निरन्तर उकालो लागिरहेको प्रहरीको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७र७८ मा देशभर २७८ वटा मात्रै यस्ता घटना भएका थिए । त्यसपछि २०७८र७९ मा २९२, २०७९र८० मा ३४२, २०८०र८१ मा ४६१ र २०८१र८२ मा बढेर ६३२ घटना पुगेका थिए ।
प्रहरी प्रवक्ता काफ्लेका अनुसार आर्थिक वर्ष २०७७र७८ देखि चालु आवको चैत मसान्तसम्म देशभर २ हजार ५०२ वटा वन्यजन्तु आक्रमणका घटना भएका छन् । ती घटनामा ३०९ जनाले ज्यान गुमाएका छन् भने १ हजार ९०५ जना घाइते भएका छन् । यस अवधिमा २ जना बेपत्ता र ६ जना विस्थापितसमेत भएका छन् ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।