Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख २९ गते ।

एसईईका नन ग्रेडेड विद्यार्थीको लागि पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई विषयसम्म नन ग्रेडेड भएका विद्यार्थी र प्राप्त ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्।

सोमबार सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ परीक्षार्थीको नतिजा ननग्रेड आएको छ। बोर्डका अनुसार दुई विषयसम्म एनजी आउने विद्यार्थी मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्। बोर्डले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीका लागि सम्बन्धित विद्यालयलाई तयारी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।
सोभन्दा बढी विषयमा एनजी आउने विद्यार्थीले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने परीक्षा नियन्त्रक तुकराज अधिकारीले जानकारी दिए।

सोमबार सार्वजनिक २०८२ को एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार यस वर्ष ४।१७ प्रतिशतले नतिजामा सुधार आएको छ। गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउनेसमेत व्यवस्था गरिएको बोर्डले जनाएको छ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले विज्ञप्ति जारी गर्दै विद्यार्थीले अनलाइनमार्फत नै पुनर्योगका लागि आवेदन दिन सक्ने जनाएका छन्। पुनर्योग गर्न चाहने परीक्षार्थीले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ। पुनर्योगका साथै विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन समेत पाउने बोर्डले जनाएको छ।
परीक्षामा १ लाख ४६ हजार विद्यार्थी ननग्रेडेड भएका छन्।

एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ।
दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। दुईभन्दा बढी विषयमा एनजी आउने विद्यार्थीले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *