Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख २९ गते ।

सिरहामा एउटै भारतीय सुटरको प्रयोग गरि एकजनाको हत्या र अर्का एकजनाको हत्याको प्रयास भएको खुलेको छ । सिरहा नगरपालिका–१ निवासी ४२ वर्षीय प्रेमनाथ यादवको हत्या भारतीय सुटर प्रयोग गरी योजनाबद्ध रूपमा गराइएको प्रहरीले खुलासा गरेको हो । तीन महिनासम्मको अनुसन्धानपछि प्रहरीले उनको हत्या पारिवारिक रिसइबीका कारण ‘सुपारी’ दिएर गराइएको निष्कर्षमा पुगेको छ ।
प्रेमनाथको गत माघ १६ गते दिउँसो सिरहा नगरपालिका-७ स्थित आफ्नै खेत नजिक बाँघासारीमा गोली प्रहार गरी हत्या गरिएको थियो। घटनापछि अनुसन्धान अघि बढाउँदै जाँदा स्थानीय ५२ वर्षीय उपेन्द्र यादवले भारतीय सुटर परिचालन गरेर हत्या गराएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उपेन्द्र र प्रेमनाथको परिवारबीच विगत चार वर्षदेखि विवाद हुँदै आएको थियो। सोही रिसइबीका कारण उपेन्द्रले भारतीय सुटरलाई तीन लाख रुपैयाँमा हत्या गर्न ‘सुपारी’ दिएका थिए। बयानका क्रममा उनले एक लाख रुपैयाँ तत्काल दिएको र बाँकी दुई लाख रुपैयाँ पछि दिने सहमति भएको स्वीकार गरेको प्रहरीले जनाएको छ।
उपेन्द्रविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ। सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न अन्य भारतीय नागरिकको खोजी कार्य जारी छ।
यस घटनाको अनुसन्धानको क्रममा बीटीएस, ८० जनाको सीडीआर, सोधपुछ तथा घटना विवरण कागज, शंकास्पद व्यक्तिको पोलिग्राफ टेष्ट गर्नुका साथै केन्द्रीय अनुसन्धान व्युरोबाट पविधिक विज्ञसहितको टोलीको सहयोग, प्रदेश प्रहरी कार्यालय वीरगञ्जको सहयोग तथा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशनमा विभिन्न कोणबाट अनुसन्धान गरिएको थियो।

प्रेमनाथ हत्या प्रकरणकै अनुसन्धानका क्रममा प्रहरीले अर्को गोली प्रहारको घटना पनि सार्वजनिक गरेको छ। अनुसन्धानबाट औरही गाउँपालिका–५ का श्यामसुन्दर शर्मामाथि पनि सोही भारतीय सुटरमार्फत हत्या प्रयास गरिएको खुलेको हो।
गत माघ ४ गते राति करिब १२ बजे गाउँस्थित जितिया मन्दिरमा चुकुल लगाएर सुतिरहेका बेला श्यामसुन्दरमाथि झ्यालबाट गोली प्रहार गरिएको थियो। गोली उनको टाउकोमा लागेको प्रहरीले जनाएको छ। घाइते शर्माको विराटनगरस्थित अस्पतालमा उपचार गरिएको थियो। चिकित्सकले उनको टाउकोबाट गोली निकालेपछि उपचार सफल भएको र हाल उनी स्वास्थ्य लाभ गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार स्थानीय ५५ वर्षीय हरि ठाकुरले पारिवारिक रिसइबी साँध्न भारतीय सुटरलाई ५० हजार रुपैयाँ दिएर श्यामसुन्दरमाथि गोली प्रहार गराएका थिए । घटनामा संलग्न हरि ठाकुर, भारतीय सुटर तथा उनीहरूलाई सुटरसँग सम्पर्क गराउने व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक पाठकले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *