सामाजिक फीड–
जनकपुरधाम, वैशाख २८ गते ।
पर्सा प्रहरीले लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियानअन्तर्गत दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार र शनिबार सञ्चालन गरेको अभियानका क्रममा वीरगञ्ज महानगरपालिका-१६ स्थित शङ्कराचार्य गेट चेकपोइन्टबाट उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार भारतको रक्सौलबाट नेपाल प्रवेश गर्दै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ ल्याइएको लागुऔषधसहित आठ जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामाथि जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ । यस्तै कविन पराजुलीको साथबाट पनि ६०० मिलिग्राम खैरो हिरोइन फेला परेको छ ।
त्यसैगरी सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणमा खैरो हिरोइन, प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।