सामाजिक फीड–
जनकपुरधाम, वैशाख २८ गते ।
सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब ४ः३० बजे गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक छेउमा बेवारिसे अवस्थामा शव भेटिएको हो ।
स्थानीयवासीले सडक आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी चौकी गोडैताबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेरका पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो । शव अत्यधिक सडेकाले मृतकको पहिचान हुन सकेको छैन ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको तथा मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।