सामाजिक फीड–
जनकपुरधाम, वैशाख २५ गते ।
डोजर लगाएर घरबार भत्काउन लागेको भन्दै धनुषाको महेन्द्रनगरमा प्रभावित स्थानीयले चक्काजाम गर्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि प्रभावित स्थानीयवासी आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बिहान ७ बजेदेखि ८ बजेसम्म टायर बालेर जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए । आन्दोलनकारीले सडक अवरुद्ध हुँदा करिब १ घण्टासम्म सवारी आवागमन ठप्प भएको थियो ।
क्षीरेश्वरनाथ नगरपालिकाले गत सोमबार सूचना जारी गर्दै नेपाल सरकार गृह मन्त्रालयको २०८३ वैशाख १६ गतेको पत्रअनुसार नगरपालिका क्षेत्रभित्र वडा नं १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित तथा जोखिमयुक्त सरकारी र सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा तथा अन्य संरचना सात दिनभित्र खाली गर्न आग्रह गरेको थियो ।
सूचनापछि प्रभावित स्थानीयवासीले वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै आन्दोलन गर्ने निर्णयमा पुगेका हुन् । आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्थानीयवासीको भनाइ छ ।
नगरपालिकाले तोकिएको अवधिभित्र अतिक्रमित क्षेत्र खाली नगरे सुरक्षाकर्मीको सहयोगमा हटाइने चेतावनीसमेत दिएको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।