Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख २५ गते ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउने प्रक्रियाप्रति गम्भिर आपत्ति जनाएका छन्।

उनले विज्ञप्तिमार्फत आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखको भूमिकाप्रति समेत खेद व्यक्त गरेका हुन्।

राईले संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिँदै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको बताएका छन्। “गलत कार्यलाई कदापि सही भन्न सकिँदैन,” भन्दै उनले सरकारले वरियतामा चौथो क्रममा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरेर अर्को ठूलो गल्ती गरेको आरोप लगाए।

उनले सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर गरेको नियुक्ति राजनीतिक तथा कानुनी स्वार्थबाट प्रेरित हुन सक्ने आशंका व्यक्त गरेका छन्। सहकारी ठगी प्रकरण र भदौ २३-२४ को ‘जेन–जी आन्दोलन’ जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन यस्तो नियुक्ति गरिएको हुन सक्ने उनको दाबी छ।

राईले नियुक्तिसम्बन्धी बैठकका क्रममा एमसीसी र एसपीपी जस्ता विषयसमेत उठाएर दबाब र प्रभाव सिर्जना गरिएको आरोप लगाए। साथै, हालै आफ्नो पार्टीबाट निर्वाचित उपसभामुखले समेत वरियताको क्रम उल्लंघन गरी गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *