Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख २५ गते ।

जनकपुरको राजर्षि जनक सहित ८ वटा विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न दरखास्त आह्वान भएको छ।

उपकुलपति सिफारिसका लागि गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो। रिक्त भएका त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिका लागि समेत दरखास्त माग भएको छ। सूचनाअनुसार अबको १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा गई दिइएको लिंकमा दरखास्त दिन सकिनेछ।

विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसम्बन्धी एकीकृत कार्यविधि २०८३ मा उपकुलपतिका लागि आवेदन दिन आवश्यक न्यूनतम योग्यता तोकिएको छ।

कार्यविधि बमोजिम विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधी उपाधि प्राप्त गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको, शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापनसम्बन्धी सिप र कौशल प्रदर्शन गरेको, चालिस वर्ष उमेर पूरा भएको, उच्च नैतिक चरित्र भएको, प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको, आवेदकको सम्बन्धित विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको, नेपाली नागरिक भएको, दरखास्त दिने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *