सामाजिक फीड–
जनकपुरधाम, वैशाख २४ गते ।
सरकारले सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय बासिन्दा एवं व्यापारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले आज विहान बरियारपट्टी गाउँपालिका-३ स्थित बरियारपट्टी चोकमा केही घण्टा हुलाकी राजमार्गमा सरकार विरुद्ध प्रदर्शन गर्दै चक्काजाम समेत गरेका थिए ।
प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर बिहान राजमार्ग अवरुद्ध गरेका थिए । भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भएकाले आन्दोलनमा उत्रिएको स्थानीयको भनाई छ । गत वैशाख २१ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
बरियारपट्टी छोटी भन्सार कार्यालय पुनस् सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ । उनीहरुले सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले आफुसंग छलफलको क्रममा तत्कालका लागि बरियारपट्टीको छोटी भन्सार कायम रहने र केही दिनपछि थप समीक्षा तथा निर्णय गरिने गरी सम्बन्धित निकायलाई निर्देश दिएको रास्वपाका सांसद शिव यादवले बताएका छन् । आफु जनताको आवश्यकता, सीमावर्ती क्षेत्रको वास्तविक अवस्था, व्यापारिक सहजता तथा स्थानीय अर्थतन्त्रलाई ध्यानमा राख्दै बरियारपट्टीमा छोटी भन्सार स्थायी रूपमा कायम गराउन निरन्तर पहल गरिरहेको उनको भनाई छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।