सामाजिक फीड–
जनकपुरधाम, वैशाख २४ गते ।
हप्तामा दुई दिन विदा दिने सरकारको निर्णयलाई सिरहाका धेरैजसो विद्यालयहरुले अटेरी गरेको पाइएको छ । विशेष गरी निजी विद्यालयहरूले अझै सरकारी निर्णय पालना नगरेको भन्दै स्थानीय तहहरूले सचेत गराउँदै आएपनि अटेर गर्दै आएका हुन् । सरकारले गरेको निर्णयको अवज्ञा गर्न थालिएपछि शिक्षा विकास तथा समन्वय इकाइ सिरहाले सबै स्थानीय तह तथा विद्यालयहरूलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन पत्राचार गरेको छ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सम्पूर्ण शैक्षिक संस्थाहरूलाई शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनको लागि पत्राचार गरिएको हो।
जारी पत्रमा भनिएको छ,‘दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा परिवर्तित शैक्षिक सत्र एवम् सार्वजनिक बिदा अनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने व्यवस्थाका लागि सबै स्थानीय तह एवम् अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालाई अनुरोध गरिन्छ।’
शैक्षिक गतिविधिलगायत विभिन्न प्रवर्द्धनात्मक र रचनात्मक शैक्षिक कार्यहरू गर्न गराउन अनुरोध समेत गरिएको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।