Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख २४ गते ।

बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ । अस्थायी डाइभर्सन निर्माण गरेपछि आज बिहानदेखि सवारी आवागमन खुलाइएको हो ।

जिल्ला प्रहरी कार्यालयले लगातार वर्षा भइरहेकाले अत्यावश्यक कामबाहेक यो मार्ग प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ । गत सोमबार परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

प्रहरीका अनुसार वर्षा हुनेबित्तिकै रोशी क्षेत्रमा बनाइएको करिब चार किलोमिटर लामो अस्थायी डाइभर्सनमा क्षति पुग्ने जोखिम रहने भएकाले आवश्यक परे आवागमन रोक्ने गरिएको छ ।

राजमार्ग बन्द हुँदा सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मंगलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोक्ने व्यवस्था गरिएको छ ।

गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको छ । हाल ती क्षेत्रमा सडक पुनर्निर्माणको काम जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *