Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख २३  गते ।

जबर्जस्ती करणी प्रयास र अभद्र व्यवहारसम्बन्धी दुई छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाक्नेश्वरी नगरपालिका-८ निवासी २२ वर्षीय सुरजप्रकाश मण्डललाई जबर्जस्ती करणी प्रयासको आरोपमा नियन्त्रणमा लिइएको हो। वैशाख २१ गते राति करिब १ बजे उनले स्थानीय एक बालिकाको घरमा प्रवेश गरी करणी गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

प्रहरी प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार मण्डलविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।

यसैबीच, अभद्र व्यवहार मुद्दामा भारतको उत्तर प्रदेशस्थित फत्तेपुर गयन्द बरिपुर हावई निवासी २५ वर्षीय पुरुषोत्तम सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार अग्नीसाइर कृष्णासवरन गाउँपालिका–१ मा सोमबार सिंहले चलाएको यूपी ४१ बीटी ६७५६ नम्बरको ट्रकले सोही स्थानमा रोकिराखिएको प्र १–०२–००१ ज ३८३७ नम्बरको म्याजिक गाडीलाई ठक्कर दिएको थियो। दुर्घटनापछि सोधपुछका क्रममा उनले प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको हो।

सिंहविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *