सामाजिक फीड–
जनकपुरधाम, वैशाख २२ गते ।
जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका-२ का २२ वर्षीय बेगम विक रहेका छन्।
प्रहरीका अनुसार उनलाई मंगलबार बिहान वीरगञ्ज महानगरपालिका-४ स्थित बिर्ता चोकबाट नियन्त्रणमा लिइएको हो। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ।
विक यसअघि जेनजी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए। उनीमाथि जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतले ८ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
कैद भुक्तानकै क्रममा सुधार गृहबाट फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। पक्राउ परेका विकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः बाल सुधार गृह वीरगञ्ज पठाइएको पर्सा प्रहरीले जनाएको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।