Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख २२ गते ।

मधेश प्रदेशमा एमाले सहितको समर्थनमा मधेश आश्रित दलको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । जनमत पार्टीका सचेतक चन्दन सिंह सहित १० जना सांसदले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको हो ।

सोमवार जनमत पार्टीले नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अहिले सरकारमा रहेका पार्टीका दुवै मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको थियो । त्यस कदमले भने जनमत पार्टीभित्रै विवाद सुरु भएको छ । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादबीच संसदीय दलका नेता महेश प्रसाद यादवले मधेश प्रदेश सरकारलाई दिएको समर्थन यथावत रहेको बताएका छन् ।

संसदीय दलको कार्यालयबाट प्रदेश प्रमुखलाई पठाइएको पत्रमार्फत पार्टीको आधिकारिक निर्णय नभएसम्म सरकारलाई दिएको समर्थन कायम रहने उनले जनकारी गराएका छन् । नेता यादवद्वारा हस्ताक्षरित पत्रमा पार्टीको औपचारिक बैठकबाट निर्णय नभएसम्म कुनै पनि व्यक्तिको दाबीलाई आधिकारिक मान्न नसकिने उल्लेख गरिएको छ ।

पत्रमा केही व्यक्तिहरूले बिना आधिकारिक निर्णय समर्थन फिर्ता लिएको भन्दै गरिएको दाबीप्रति असहमति जनाउँदै त्यस्ता गतिविधिबाट भ्रम नफैलाउन आग्रह गरिएको छ । साथै, पार्टीभित्र देखिएको मतभेदलाई औपचारिक निर्णयका रूपमा व्याख्या नगर्न पनि उनले भनेका छन । प्रदेशमा जनमत पार्टीबाट महेशप्रसाद यादव अर्थमन्त्री र बसन्त कुशवाहा खेलकुद तथा समाज कल्याणमन्त्री छन् । जनमत पार्टीका केन्द्रीय प्रवक्ता चन्दन सिंहका अनुसार कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको र संघीयतालाई मजबुत बनाउने काम पनि नगरेपछि प्रदेश सरकारको अनुभुति नहुँदा समर्थन फिर्ता लिएको बताएका छन ।

कांग्रेस नेतृत्वको मधेश प्रदेशको सरकारबाट मधेशवादी दल जनमत, जसपा र लोसपा पछिल्लो समय बिच्किएको थियो । केही साताअघि बाराको परवानीपुरमा मधेश प्रदेशका एमाले संसदीय दलका नेता सरोजकुमार यादवले कांग्रेससँग समर्थन फिर्ता लिँदै मधेशवादी दलसित मिलेर मधेशवादीकै नेतृत्वमा सरकार गठन गर्न समर्थन गर्न तयार रहेको बताएका थिए । त्यसपछि मधेशवादी दल मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा रहेको सरकार फेर्न कसरत थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *