Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख २१ गते ।

मधेश प्रदेशमा मंगलबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमबाट विकसित भएको मौसम प्रणाली क्रमशः पूर्वतर्फ सर्दै आएकाले मधेशका धेरै स्थानमा मध्यम खालको वर्षा हुने देखिएको छ।
विभागले आज बिहान जारी गरेको सूचनामा सुदूरपश्चिम प्रदेशका पहाड र तराई क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षा भइरहेको र उक्त प्रणाली उत्तर–पूर्वतर्फ सर्दै गएकाले त्यसको प्रभाव मधेशसहित आसपासका क्षेत्रमा समेत विस्तार हुने जनाएको छ। यसका कारण थप वर्षा हुनुका साथै चट्याङ र हावाहुरीबाट क्षति हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

विपद् विज्ञ डा। धर्मराज उप्रेतीका अनुसार भारतको पन्जाब, हरियाणा, हिमाञ्चल र उत्तराखण्ड हुँदै सुदूरपश्चिमसम्म सक्रिय भएको बादल प्रणाली अहिले पूर्वतर्फ सर्दै आएको छ। सोही प्रणालीको प्रभाव लुम्बिनी हुँदै मधेश प्रदेशतर्फ बढ्दै गइरहेको छ, जसले आज दिनभरजसो बादल लाग्ने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना रहेको उनले बताए।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्नेछ भने यसको प्रभाव विस्तार हुँदै अन्य प्रदेशमा समेत देखिनेछ। आज राति पनि देशका विभिन्न स्थानमा बादल लाग्ने र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद् डेभिड ढकालका अनुसार मंगलबारसम्म मधेश प्रदेशका धेरै स्थानमा मध्यम खालको वर्षा हुने सम्भावना छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्छ। उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि समान प्रकारको मौसम रहनेछ।
त्यस्तै, बुधबारदेखि बिहीबारसम्म सबै प्रदेशका तराई क्षेत्रमा छिटफुटदेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ। पहाडी र हिमाली क्षेत्रमा पनि यो साताभर वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
मौसम प्रणाली सक्रिय भइरहेकाले विशेष गरी मधेश प्रदेशका बासिन्दालाई चट्याङ, हावाहुरी तथा सम्भावित डुबानबाट जोगिन सतर्क रहन विभागले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *