सामाजिक फीड–
जनकपुरधाम, वैशाख २१ गते ।
सिरहाको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले सरकारी-ऐलानी जग्गा कब्जा गरेको आरोप लागेको छ । जग्गा कब्जा गरेको भन्दै नगरप्रमुख चौधरी विरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । गत १६ वैशाखमा राष्ट्रिय सतर्कता केन्द्रले उनीविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउन सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई निर्देशन दिएको छ ।
केन्द्रका अनुसार, नगरप्रमुख चौधरीले सरकारी स्वामित्वको सार्वजनिक जग्गा कब्जा गरेको भन्दै पटक–पटक उजुरी दर्ता भएको थियो। ती उजुरीहरूलाई आधार मानेर गत बुधबार जिल्ला प्रशासन कार्यालय सिराहामा औपचारिक पत्र पठाइएको जनाइएको छ। साथै, यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई मौखिक जानकारीसमेत गराइएको केन्द्रले उल्लेख गरेको छ।
केन्द्रद्वारा दिइएको निर्देशनमा घटनाको यथार्थता बुझी आवश्यक छानबिन र कारबाही गरेर प्रतिवेदन केन्द्रमा पठाउन भनिएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आफू हाल जिल्लाबाहिर रहेकाले घटनाबारे विस्तृत जानकारी लिन बाँकी रहेको प्रतिक्रिया दिए । जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले भने केन्द्रबाट प्राप्त पत्रका आधारमा प्रक्रिया तत्काल अघि बढाइएको जानकारी दिएका छन्।
बरालका अनुसार, उजुरीबारे पत्र प्राप्त हुनेबित्तिकै नगरप्रमुख चौधरीलाई जानकारी गराइएको छ र आन्तरिक अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ। अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्दै उनलाई औपचारिक पत्राचारसमेत गरिएको उनले बताए।
यसैबीच, २४ वैशाखमा जिल्लास्तरीय बृहत् बैठक आयोजना गरिने तयारी गरिएको छ। उक्त बैठकमार्फत जिल्लाभित्र सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरूको विवरण संकलन गरी हटाउने अभियान सुरु गर्ने योजना बनाइएको छ। बैठकमा नगरप्रमुख, सम्बन्धित सरकारी निकाय, नापी तथा मालपोत कार्यालयका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने बताइएको छ।
बरालले सार्वजनिक जमिनको अतिक्रमण हटाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने स्पष्ट पारे। आरोपबारे प्रतिक्रिया लिन नगरप्रमुख चौधरीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनको आधिकारिक नम्बरमा सम्पर्क हुन सकेन।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।