Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख १७ गते ।

महोत्तरीमा मोटरसाइकको ठक्करबाट मृत्यु भएको महिलाको दुईदिनपछि समेत पहिचान खुल्न सकेको छैन । बर्दिबास जलेश्‍वर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका करिब ५५ वर्षीया महिलाको पहिचान खुल्न नसकेपछि पोष्टमार्टम प्रक्रिया रोकिएको छ ।

मृत महिलाको सनाखतको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्पूर्णमा आग्रह गरेको छ । जलेश्‍वर नगरपालिका वडा नं।१ मा बुधबार साँझ मोटरसाइकलको ठक्करबाट ती महिलाको मृत्यु भएको थियो । पहिचान खुल्न नसकेपछि ती महिलाको सनाखतका लागि तस्बिर सार्वजनिक गर्दै सबैमा आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

उनका अनुसार बर्दिबास जलेश्‍वर सडक खण्डमा बजराहीतर्फबाट जलेश्‍वर तर्फ तिव्र गतिमा आँउदै गरेको ज १२ प ५५५ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा ती महिलालाई गम्भीर घाइते भएकी थिइन । नम्बर नखुलेको टेम्पुबाट आएका महिला जलेश्वरमा ओर्लेर केही अगाडि बढेपछि एक्कासि तिव्र गतिको मोटरसाइकलले ठक्कर दिएर घाइते बनाएका थिए ।

उनलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जलेश्‍वर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । बुधबार रातभरि मृत महिलाको शवलाई प्रादेशिक अस्पताल जलेश्वरको इमर्जेन्सी कक्षमा राखिएको र बिहीबार बिहानै पोष्टमार्टम कक्ष पुर्‍याइएको प्रहरीले जनाएको छ ।

हालसम्म सनाखत हुन नसक्दा पोष्टमार्टम लगायतका काम हुन नसकेको बताउँदै आफू शव पहिचानको कार्यमा लागेको डिएसपी भट्टले जानकारी दिए । शव पहिचान गर्ने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय महोत्तरीको ९८५४०३२४५५, ९८५४०३००९९ वा १०० नम्बरमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *