जनकपुरधाम, बैशाख १२ गते ।
धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरस्थित रहेको कोमल होटेलमा जवरजस्ती डोजर लगाएर तोडफोडको प्रयास भएको संचालकले आरोप लगाएको छ ।
आफ्नै निजी नम्बरी जग्गामा नक्सा पास गरी बनाइएको पाँचतल्ले होटलमा सडक तथा नाला निर्माणको नाममा मिथिला नगरपालिका, सडक डिभिजन कार्यालय लगायतले डोजर लगाउन खोजेको होटेलका संचालक प्रमोद साहको आरोप छ ।
आफ्नो निजी सम्पति कि.नं. ६३३ र ६८१ मा नक्सा पास गरी बनाएको पाँच तल्ले भवन बिना सहमति नगरपालिका लगायत निकायले तोडफोग गर्न खोजेको भन्दै जग्गाधनी उनका बुबाआमा देवनारायण साह सुडी र कोमल कुमारी देवीको उच्च अदालत पुगेका थिए ।
सो निवेदन उपर सुनुवाई गर्दै मुख्य न्यायाधीश श्रीकान्त पौडेल र न्यायाधीश नर बहादुर खड्काको संयुक्त इजलासले विपरक्षीहरुको नाममा निषेधाज्ञा जारी गरेको छ । सम्पत्ति सम्बन्धी अधिकार नागरिकको मौलिक अधिकारसँग जोडिएको उल्लेख गर्दै राज्य वा उसका निकायले कानूनी प्रक्रिया र उचित क्षतिपूर्ति विना निजी सम्पत्तिमा हस्तक्षेप गर्न नमिल्ने अदालतको ठहर छ । सार्वजनिक संरचना निर्माण गर्दा सम्भव भएसम्म निजी जग्गामा असर नपर्ने गरी गर्नुपर्ने आदेशमा उल्लेख छ ।
अदालतले बाटोको मध्यविन्दुबाट दुवैतर्फ बराबर जग्गा लिएर मात्र नाला निर्माण गर्न सकिने, अन्यथा एकतर्फी रूपमा निवेदकको जग्गामा मात्र काम गर्न नपाइने आदेश दिएको छ ।
विपक्षीहरु मिथिला नगरपालिका नगर कार्यपालिकाको कार्यालय, नगर प्रमुख महेन्द्र महतो, प्रमुख प्रशासकिय अधिकृत, डिभिजन कार्यालय धनुषा मुजेलिया, डिभिजन कार्यालय प्रमुख लगायतको नाममा निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा बाबजुद आफ्नो निजी सम्पतिमा तोडफोड गर्ने प्रयास भए अदालतको अब्हेलना मुद्दामा विपक्षीहरुमाथि कारबाहीको लागि कुनै कसर बाँकी नराख्ने संचालक साहले बताए ।