Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख १०  गते ।

तराई-मधेसमा केही दिनदेखि जारी अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि मधेसका जिल्लाहरूमा तातो हावा अर्थात लु चल्ने सम्भावना छ।

विभागले कर्णाली प्रदेशबाहेक देशका सबै प्रदेशका तराई तथा उपत्यकाका होचो भू–भागमा अत्याधिक गर्मी रहने प्रक्षेपण गरेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा लुको सम्भावना बढी रहेको बुलेटिनमा उल्लेख छ।

तराई-मधेसका प्रमुख जिल्लामा तापक्रम उच्च रहने अनुमान गरिएको छ। बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने देखिएको छ। त्यस्तै धनुषाको जनकपुरमा पनि तापक्रम ३८ देखि ४० डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ।

बाराको सिमरा क्षेत्रमा ३६ देखि ३८ डिग्री सेल्सियस, कैलालीको धनगढीमा ३८ देखि ४० डिग्री सेल्सियस र नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म तापक्रम पुग्न सक्ने विभागले जनाएको छ। भैरहवामा भने तापक्रम ४० देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

विभागले तातो लहरका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै अत्यावश्यक नभए घर बाहिर ननिस्कन, घामबाट जोगिन र पर्याप्त पानी पिउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *