Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख १०  गते ।

मधेस प्रदेशका डीआईजी गोविन्द थपलियाको कार्यकक्षमै एक प्रहरी जवानले आत्मघाती प्रयास गरेका छन्। धनुषाको जानकी प्रहरी चौकीमा कार्यरत जवान रोशन यादवलाई छानबिनका लागि प्रदेश प्रहरी कार्यालयमा बोलाइएको थियो।

यादवले बुधबार ‘छानबिनको नाममा यातना’ दिइएको आरोप लगाउँदै आफूले हात काट्ने प्रयास गरेको बताएका छन्। जनकपुरमा कार्यरत एक सञ्चारकर्मीसँग उनले गरेको भनिएको अडियो संवाद सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ।

यसअघि जानकी चौकीका इन्चार्ज वरिष्ठ सई सागर शमसेर जबरालाई निलम्बन प्रक्रिया अघि बढाइएपछि सोही प्रकरणमा जोडिएका यादवलाई पनि चार दिनअघि छानबिनका लागि झिकाइएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक अर्को अडियोमा सागर शमसेर जबरा र एक व्यापारीबीचको संवाद सुन्न सकिन्छ। उक्त संवादमा व्यापारीले डीआईजीको नाममा मासिक रकम असुल्ने गरिएको आरोप लगाएका छन्। उनका अनुसार जयलाल यादवमार्फत आफूबाट मासिक ३ लाख र अर्का एक व्यक्तिबाट १ लाख ५० हजार रुपैयाँ असुलिने गरेको दाबी गरिएको छ।

यस अडियो प्रकरणबारे छानबिन भइरहेको जनाइएको छ। हात काट्ने प्रयास गरेका जवान यादवले भने डीआईजी थपलिया र छानबिनमा संलग्न अधिकृतहरूले ‘जबरालाई बोलाउ’ भन्दै आफूलाई मानसिक तथा शारीरिक दबाब दिएको आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *