सामाजिक फीड–
जनकपुरधाम, वैशाख ८ गते ।
मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाका लागि प्रहरीले व्यापारीसँग पैसा उठाएको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबरालाई लिनम्बनको प्रक्रिया अघि बढाइएको छ ।
आफ्नै कार्यालयका प्रमुख तथा संगठनलाई बद्नाम गराउने उद्देश्यले व्यापारीसँग आफैंले फोन गरी बनावटी कथा रचेर वरिष्ठ सई जबराले अडियो बनाई प्रचार गरेको प्रदेश प्रहरी कार्यालयको आरोप छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका एसपी तथा सहायक प्रवक्ता भेषराज रिजालले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएका हुन् । उक्त अडियो समबन्धमा यस कार्यालयबाट आवश्यक अनुसन्धान र छानबिन कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।
वरिष्ठ सई जबरा र रामजी महासेठ नाम गरेका व्यापारीबीचको टेलिफोन संवाद बाहिरिएको छ । उक्त संवादमा डीआईजीलाई रकम बुझाउनेबारेका कुराहरू गरिएको छ ।
डीआईजीको नाम लिएर बद्नाम गराउन खोजिएको भन्दै डीआईजी कार्यालयले यस विषयमा छानबिन अघि बढाइएको बताएको छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।