सामाजिक फीड–
जनकपुरधाम, वैशाख ८ गते ।
सिरहा कारागारमा फेरि तनाव बढेपछि प्रहरीले २३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारमा विवाद गर्दै आएका २३ जना कैदीबन्दीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कारागारको आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिन खोजेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा राखिएको छ ।
दुई दिनअघि केही कैदीले चौकीदार प्रेम चौधरीलाई जबरजस्ती बाहिर निकाल्दै कारागारको आन्तरिक व्यवस्थापन कब्जा गर्ने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार उक्त घटनापछि थप झडप र असुरक्षाको अवस्था सिर्जना हुन सक्ने अनुमान गर्दै ती कैदीहरुलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका कैदीमाथि आवश्यक कानुनी प्रक्रिया सम्बन्धित निकायको निर्देशनअनुसार अघि बढाउने तयारी छ । कारागार विभागबाट अनुमति आएपछि कुन कैदीलाई कहाँ पठाउने भन्ने निर्णय गरेर सारिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
सिरहा कारागारमा यसअघि पनि पटक–पटक गुटबन्दी, कुटपिट र आन्तरिक झडपका घटना भएका छन । व्यवस्थापनमा कमजोरी र सुरक्षाकर्मीको मिलेमतोका आरोपले कारागार बारम्बार तनावग्रस्त बन्ने गरेको छ ।
यसअघि माघ २६ गते गरिएको संयुक्त सुरक्षा अपरेशनका क्रममा कारागारभित्रबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको थियो । उक्त हतियार आन्तरिक प्रभाव जमाएका कैदी इन्द्रजित यादवसँग सम्बन्धित रहेको प्रहरीले जनाएको थियो । सोही अपरेशनमा यादवसहित १३ जनालाई नियन्त्रणमा लिई अन्य कारागारमा सारिएको थियो । इन्द्रजित यादव पक्राउ परेपछि कैदीबन्दीले दुई दिनसम्म विरोध प्रदर्शनसमेत गरेका थिए । पछिल्ला घटनाक्रमहरूले सिरहा कारागारको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाइरहेका छन् ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।