Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख ८ गते ।

सर्लाहीमा बाढीले बगाएको लखन्देही खोलाको बाँध पुननिर्माण नहुँदा २० वटा गाउँ बाढीको उच्च जोखिममा जनकपुरधाम सर्लाहीको लखन्देही खोलाको बाँध पुननिर्माण नहुँदा २० वटा गाउँ बाढीको उच्च जोखिममा परेको छ । वर्षा एवं बाढीको याम नजिकिएसँगै उनीहरु त्रासमा बस्न बाध्य भएका हुन् ।

चक्रघट्टा गाउँपालिकास्थित सुन्दरपुरमा दुई वर्षअघि बाढीले लखन्देही खोलाको बाँध भत्काएको थियो । चक्रघट्टा गाउँपालिका-२, ३ र ५ को सीमामा पर्ने सुन्दरपुरमा बाढीले लखन्देही खोलाको पूर्वी धारतर्फ करिब साढे तीन सय मिटर बाँध बगाएको थियो। लामो समयसम्म मर्मत नहुँदा आगामी बर्खामा पुनः बाढी पसेर खेतबारी र बस्तीमा ठूलो क्षति हुने स्थानीयको गुनासो छ। चक्रघट्टाका स्थानीयका अनुसार बर्खा लागेसँगै बाढी गाउँमा पसेपछि स्थानीयलाई भागाभाग हुनुपर्ने अवस्था आउँछ ।

बर्खा लागेपछि सिधै गाउँमा बाढी पसेर दर्जनौँ घर डुबानमा पर्ने गरेको र यसले कृषिमा पनि ठूलो क्षति पुग्ने गरेको स्थानीयको दुखेसो छ । सुन्दरपुरबाट लखन्देहीको बाढी पसेर चक्रघट्टा र कौडेना गाउँपालिकाका सुखचैना, लक्ष्मीपुर, फूलपरासी, इनर्बा, सक्रौल, बत्रौललगायत १५-२० गाउँमा क्षति पुर्‍याउँदै आएको छ। स्थानीयका अनुसार बाढीले सुन्दरपुरस्थित सशस्त्र प्रहरी क्याम्प, स्वास्थ्य चौकी र विद्यालयसमेत डुबानमा पार्ने गरेको छ।

बर्खामा एक गाउँबाट अर्को गाउँसम्म आवतजावत गर्न समेत कठिन हुने गरेको छ। चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले पालिकाको सीमित बजेटले मात्र बाँध निर्माण सम्भव नभएको बताए । उनका अनुसार लखन्देही खोलामा सुन्दरपुर र शिवनगर क्षेत्रमा गरी करिब १३ सय मिटर बाँध कटान भएको छ। दुई वर्षअघि यस क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं तत्कालीन रक्षामन्त्री हरिप्रसाद उप्रेतीले स्थलगत निरीक्षण गरी बजेटको पहल गर्ने आश्वासन दिए पनि हालसम्म बजेट विनियोजन नभएको अध्यक्ष यादवको गुनासो छ। यति ठुलो क्षेत्रमा बाँध कस्न संघीय सरकारको बजेटबिना सम्भव नभएको उनको भनाई छ ।

यसअघि चक्रघट्टा-१ बेल्हीमा खोलाको धार पूर्वतर्फ मोड्ने गरी बाँध निर्माण गरिएकाले सुन्दरपुरतर्फ कटान बढेको अध्यक्ष यादवको आरोप छ। शिवनगरमा बाँध निर्माण गर्न खोज्दा केही जग्गाधनीले अदालतमा मुद्दा दायर गरी ‘स्टे अर्डर’ ल्याएका छन् भने सुन्दरपुरमा पनि निजी जग्गा पर्ने भएकाले निर्माणमा समस्या देखिएको उहाँले बताए । आइतबार प्रतिनिधिसभा सदस्य नरेन्द्र साह कलवार, प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालगायतले कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। प्रमुख जिल्ला अधिकारी कडरियालले जग्गाधनीसँग सहमति गर्ने वा आवश्यक परे मुआब्जा दिएर भए पनि बाँध निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । प्रतिनिधिसभा सदस्य कलवारले सुन्दरपुर र शिवनगरमा तटबन्ध निर्माणका लागि संघीय सरकारबाट बजेट व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *