सामाजिक फीड–
जनकपुरधाम, वैशाख ७ गते ।
जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्री पदमा रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यसले स्वार्थको द्वन्द्व उत्पन्न गर्ने स्पष्ट उल्लेख गरिएको छ।
वक्तव्यमा मन्त्रीकै ओहदामा रहेर आफ्नै विरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत हुने भन्दै निष्पक्ष न्यायका लागि गुरुङले पदत्याग गर्नुपर्ने जिकिर गरिएको छ।
जेनजी मुभमेन्टले मन्त्री नियुक्ति र बर्खास्तीलाई हल्का र अमर्यादित राजनीतिक अभ्यास नबनाउन बालेन शाह नेतृत्वको सरकारलाई पनि आग्रह गरेको छ। क्याबिनेटमा नियुक्ति गम्भीर राजनीतिक तथा नैतिक विषय भएकाले जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनुपर्ने वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा भनिएको छ, “यो कुनै साधारण सरकार होइन, ७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो।” साथै, जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति स्वीकार्य नहुने चेतावनी पनि दिइएको छ।
जेनजी मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताका विषयमा कुनै पनि सम्झौता वा ढिलाइ स्वीकार्य नहुने स्पष्ट पारेको छ।
यसैबीच, विवादास्पद व्यापारी दीपक भट्टसँग गुरुङको साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।