Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख ७ गते ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्।

कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका लागि सुर्खेत पुगेका उनले वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन्। उनले कर्णालीजस्तो विकट भूगोल भएको क्षेत्रमा इन्धनको मूल्य वृद्धि झन् मार पर्ने भन्दै विशेष सहुलियत दिन सरकारसँग आग्रह गरे।

घिसिङले कर्णालीमा आवागमन र पर्यटन प्रवर्द्धनका लागि डिजेल, पेट्रोल र ग्यासको मूल्य नबढाउनुपर्ने उल्लेख गर्दै छिमेकी देश भारतले पनि इन्धनमा मूल्य वृद्धि नगरेको सन्दर्भ उठाए। उनले नागरिकमाथिको आर्थिक भार कम गर्नेगरी मूल्य व्यवस्थापन गर्न सरकारलाई सुझाव दिए।

दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा कर्णालीको विद्युतीकरण र ट्रान्समिसन लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको जानकारी दिए। हाल १३२ केभी प्रसारण लाइन जुम्लासम्म विस्तार भइरहेको पनि उनले बताए।

पार्टी हालै गठन भएकाले संगठन सुदृढ गर्न नपाउँदै चुनावमा जानुपर्दा हार बेहोर्नु परेको उनको भनाइ थियो। आगामी चुनावमा उनेपालाई ठूलो शक्तिका रूपमा स्थापित गर्ने र वडा तहसम्म संगठन विस्तार गर्ने उनले दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *