सामाजिक फीड–
जनकपुरधाम, वैशाख ४ गते ।
जिल्ला प्रशासन कार्यालय महोत्तरी र सिरहाले सार्वजनिक सवारीसाधनमा आगामी २० दिनभित्र सीसीटीभी जडान गर्न निर्देशन दिएको छ ।
दुबै जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार प्रशासनले यस्तो निर्देशन दिएको हो । फरक फरक मितिमा बसेको बैठकले लामो तथा छोटो दुरीको सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा सीसीटिभी क्यामेरा जडान गर्नुपर्ने निर्णय गरेको हो ।
रिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार बिहीवार भएको यो निर्णय कार्यन्वयनका लागि यातायात व्यवस्था कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले नियमित रुपमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सार्वजनिक यातायातमा क्यामेरा जडान गर्नुपर्ने निर्णय जिल्लाका सम्पूर्ण यातायात प्रा।लि। तथा व्यवसायीलाई जानकारी गराइएको छ । त्यसको नियमित अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार यातायात व्यवस्थापन समिति महोत्तरीको बैठकले सार्वजनिक यातायातमा हुने लैङिक हिंसा रोकथाम गर्न र यात्रालाई सुरक्षित बनाउन जिल्लाबाट सञ्चालित हुने तथा जिल्लाभर गुड्ने सार्वजनिक साधनहरुमा अनिवार्य रुपमा सीसीटिभी र ड्यासक्याम जडान गर्नुपर्ने निर्णय गरेको हो ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।